अन्तर्राष्ट्रिय क्रिकेट परिषद्‌ले अक्टोबर २१ मा सार्वजनिक गरेको तालिकाअनुसार सन् २०२७ को महिला यू–१९ टी–२० विश्वकप जनवरी २१ देखि फेब्रुअरी ६ सम्म नेपाल र बंगलादेशमा हुनेछ। प्रतियोगितामा १६ टोलीले ४१ खेल खेल्नेछन्।

नेपाल समूह ‘ए’ मा भारत, आयरल्यान्ड र वेस्ट इन्डिजसँग छ। नेपालले जनवरी २२ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्डसँग पहिलो खेल खेल्नेछ। भारतले पनि सोही दिन काठमाडौंमा वेस्ट इन्डिजसँग आफ्नो उपाधि रक्षा अभियान सुरु गर्नेछ।

काठमाडौंका त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान प्रतियोगिताका आयोजनास्थल हुन्। बंगलादेशमा चट्टोग्राम र सिल्हेटमा खेल हुनेछन्।

समूह चरण जनवरी २६ सम्म चल्नेछ। त्यसपछि सुपर सिक्स चरण हुनेछ। सेमिफाइनल फेब्रुअरी ४ र फाइनल फेब्रुअरी ६ का लागि तय गरिएको छ। फाइनलका लागि फेब्रुअरी ७ वैकल्पिक दिन राखिएको छ।